लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाठ्यक्रममा थपिएको नेपालको क्षेत्रफल अनधिकृत : भूमि व्यवस्था मन्त्रालय

tillotmacitynews - 2020 Sep 20 07:32 PM
IMG

                                                                                          हचुवाका भरमा क्षेत्रफल उल्लेख गरेको आरोप


पाठ्यक्रम विकास केन्द्रले तयार पारेकाे विद्यालय तहमा पढाइ हुने एक पुस्तकमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित नेपालको क्षेत्रफल हचुवाका भरमा ४ सय ६० दशमलव २८ वर्गकिलोमिटर थपेकाे भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीले गम्भीर आपत्ति प्रकट गरेको छन्।नेपालको नयाँ नक्साबमोजिम आधिकारिक रूपमा भूमि नापजाँच गर्नुअघि नै पाठ्यपुस्तकमा क्षेत्रफल थपेर लेखिएको उनीहरूको आरोप छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको क्षेत्रफलको आधिकारिक नापजाँच गर्ने आधिकारिक निकाय नापी विभाग मात्र भएकाले पुस्तकमा उल्लेख क्षेत्रफल अनधिकृत भएको बताइन्। माध्यामिक तहसम्म पढाइ हुने ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलव २८ वर्ग किलोमिटर रहेको उल्लेख छ। पुस्तकका लेखक कोमलचन्द्र बराल हुन्। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको क्षेत्रफलको आधिकारिक नापजाँच गर्ने आधिकारिक निकाय नापी विभाग मात्र भएकाले पुस्तकमा उल्लेख क्षेत्रफल अनधिकृत भएको बताइन्।  


मन्त्रालयका प्रवक्ता जनक जोशीले नापीले क्षेत्रफल नापजाँच गर्न प्रक्रिया अघि बढाइरहेका बेला जथाभावी रूपमा क्षेत्रफल उल्लेख गरी पुस्तक प्रकाशन गर्नु बेठीक काम भएको बताए। पाठ्यक्रम विकास केन्द्रले मन्त्रालयसँग समन्वय र सल्लाह नै नगरी पाठयपुस्तकमा क्षेत्रफल उल्लेख गरेको उनको भनाइ छ।पाठ्यक्रम विकास केन्द्रले पुस्तकलाई स्वीकृति दिनुअघि परराष्ट्र मन्त्रालयसँग समेत समन्वय नगरेको स्रोतको दाबी छ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर गत जेठ ७ गते  नेपालको  नयाँ नक्सा सार्वजनिक गरेको थियो।जसबमोजिम नयाँ क्षेत्रफल यकिन गर्न नापी विभागका प्राविधिक लागिपरेका छन्। नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि रहेको मानिएको थियो। यो सन् १९८३ मा लिइएको नाप हो।क्यानडा सरकारको सहयोगमा एलआरएमपी (ल्यान्ड रिर्सोसेज म्यापिङ प्रोजेक्ट) ले सन् १९८३ मा गरेको नापमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ रहेको रिपोर्ट बुझाएको थियो।  


सीमाविद्का अनुसार एलआरएमपीले सबैभन्दा पहिले आफ्नो रिपोर्ट नापी विभागलाई बुझायो। अनि विभागले मन्त्रालय र मन्त्रालयले योजना आयोगलाई बुझायो। त्यसपछि योजना आयोगले केन्द्रीय तथ्यांक विभागलाई बुझायो। सोही बमोजिम तथ्यांक विभागले एलआरएमपीको रिपोर्टलाई आधिकारिक मानेको हो।नापी विभागले लिपुलेक तथा लिम्पियाधुराको क्षेत्रफल ३ सय ३५ वर्गकिमि रहेको जनाएको छ। जसअनुसार नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ पुग्ने अनुमान गरिएको हो।विभागका अनुसार देशको नक्सा दुई किसिमबाट तयार हुन्छ। प्रशासनिक र सीमा नक्सा। प्रशासनिक नक्सा तयार भएपछि सीमा नक्सा तयार गर्नुपर्ने हुन्छ। सीमा नक्सा तयार गर्न प्राविधिक फिल्डमै जानुपर्छ। यसअघि २०३२ सालमा जारी नेपालको नक्सामा लिम्पियाधुरा क्षेत्रको ३ सय ३५ वर्गकिमि भूभाग समेटिएको थिएन।

कमेन्ट गर्नुहोस्