
कोटिहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, कोटिहवा, बोहियास्थित पशुपति कलेजले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञ यही मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
महायज्ञमा भागवत अलङ्कार पण्डित नेत्र प्रसाद पराजुली प्रमुख कथावाचकका रूपमा रहनुहुनेछ । मंसिर १४ गते बिहान १० बजे शोभा कलश यात्रा गरी महायज्ञको औपचारिक शुभारम्भ गरिने र मंसिर २१ गते समापन गरिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।पशुपति कलेज सञ्चालक समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक लिला बल्लभ गैरेले कलेज परिसरमा हुने महायज्ञ अवधिभर बिहान योग शिविर, पूजापाठ, बालसंस्कार कार्यक्रम, श्रीमद्भागवत कथा प्रवचन, आरती, फूलप्रसाद वितरण तथा दैनिक भजनकीर्तनलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
महायज्ञको पूर्वसन्ध्यामा मंसिर १२ गते मोटरसाइकल र्याली आयोजना गरिने उहाँले जानकारी दिनुभयो । सोही दिन बेलुकी रुद्र गण भजन समूहबाट भजनकीर्तन प्रस्तुत गरिने कार्यक्रमसमेत तय गरिएको छ । महायज्ञ सञ्चालनका लागि करिब ३० देखि ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने महायज्ञबाट करिब २ करोड रुपैयाँ आम्दानी (बचत) गर्ने आयोजकको लक्ष्य छ ।उच्च शिक्षाको पहुँच विस्तार गर्दै गुणस्तरीय र समयसापेक्ष शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले शैक्षिक कार्यक्रम विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि महायज्ञ आयोजना गर्न लागेको जनाएको छ । ‘समय, परिस्थिति र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै कलेजले आगामी दिनमा थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । शिक्षा संकायतर्फ बीआईसीटीआई, पीजीडीआई तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनका लागि आवश्यक स्वीकृति प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने कलेजको योजना छ । त्यसैगरी व्यवस्थापन संकायतर्फ बीआईएम, बीआईटीएम, बीबीए, बीएचएम तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यी कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय तथा आसपासका जिल्लाका विद्यार्थीले आफ्नै क्षेत्रमा रहेर विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्न पाउने अपेक्षा कलेजले गरेको छ,’ गैरेले भन्नुभयो ।
प्रस्तावित शैक्षिक कार्यक्रम सञ्चालन तथा भौतिक संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती रहेको भन्दै धार्मिक तथा सामाजिक भावनालाई शैक्षिक विकाससँग जोड्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी पशुपति कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, विषयगत विविधता, आधुनिक शैक्षिक पूर्वाधार निर्माण तथा स्थानीय क्षेत्रमा उच्च शिक्षाको अवसर विस्तार गर्ने साझा अभियानका रूपमा लिइएको कलेजले जनाएको छ ।पत्रकार सम्मेलनमा कलेज सञ्चालक समितिका उपाध्यक्ष कृष्णराज कार्की, क्याम्पस प्रमुख जीत बहादुर रास्कोटी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्राध्यापक पुनहरि बेल्बासेलगायतले बोल्नुभएको थियो ।वि.सं. २०६२ सालमा स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी तथा समाजसेवीहरूको पहलमा स्थापना भएको पशुपति कलेज समुदायमा आधारित शैक्षिक संस्था हो । कलेजमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
कमेन्ट गर्नुहोस्