
कुन्जलापुर । रुपन्देहीको तिलोत्तमा नगरपालिका कुन्जलापुरमा जारी प्रतिष्ठित ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लबले शानदार जित दर्ता गरेको छ।घरेलु मैदान र दर्शकको बलियो साथ पाएको झरना स्पोर्ट्स क्लबले जनज्योति फुटबल क्लबमाथि ३–१ को स्पष्ट गोल अन्तरले जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाएको हो।
झरना स्पोर्ट्स क्लबको जितमा आसमान थापा क्षेत्रीले मैदानमा उत्कृष्ट खेल प्रदर्शन गरे। उनले विपक्षी टोलीको रक्षापंक्तिलाई भेद्दै व्यक्तिगत २ गोल गरे। खेललाई आफ्नो नियन्त्रणमा राख्ने क्रममा टोलीका कप्तान अशोक घर्ती मगरले पनि १ गोल थप्दै जित सुनिश्चित गरे।खेलको उत्तरार्धमा जनज्योति फुटबल क्लबका तर्फबाट सुभाष नेपालीले १ सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।खेलभरि आक्रामक र प्रभावकारी प्रदर्शन गर्दै दुई गोल गर्न सफल झरना स्पोर्ट्स क्लबका खेलाडी आसमान थापा क्षेत्री आजको खेलको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) घोषित भए।
प्रतियोगिता अन्तर्गत भोलिको खेलमा पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। भोलि हुने खेलमा भैरव स्पोर्ट्स क्लब र सम्पूर्ण युवा क्लब बीच भिडन्त हुनेछ।प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ। नगद राशिका साथै विजेता र उपविजेता दुवै टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।
कमेन्ट गर्नुहोस्