
तिलोत्तमा । ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता आजबाट विधिवत रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले निर्णायक रेफ्रीलाई म्याच बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।रोमाञ्चक उद्घाटन खेलमा चरङ्गे युवा क्लबले लिस्नु युवा क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
पहिलो हाफमा तीव्र प्रतिस्पर्धा
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। चरङ्गे युवा क्लबका लागि अविनाश स्याङ्ताङले उत्कृष्ट फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, चरङ्गेको त्यो अग्रता लामो समय टिक्न सकेन। लिस्नु युवा क्लबका रोशन पहारीले पहिलो हाफकै समयमा गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा सुदिपको चम्किएको प्रदर्शन
दोस्रो हाफमा चरङ्गे युवा क्लबका सुदिप सिरीसले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले लगातार दुई गोल गर्दै चरङ्गेलाई ३-१ को बलियो स्थितिमा पुर्याए। खेलको अन्तिम समयतिर लिस्नुका सुशील राईले टोलीका लागि दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् र खेल चरङ्गेले ३-२ ले आफ्नो पक्षमा पार्यो।
खेलले जीवनलाई स्वस्थ र सामाजिक बनाउँछ : प्रमुख अतिथि पाठक
३८औँ झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सामाजिक बन्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।पाठकले खेलले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउनुका साथै युवालाई अनुशासन, सहकार्य र नेतृत्व विकासतर्फ अघि बढाउने बताए। उनले खेलकुदको विकाससँगै स्थानीय प्रतिभालाई अवसर र प्रोत्साहन दिनुपर्नेमा जोड दिए।उनले भने, “खेलले जीवनलाई स्वस्थ र सामाजिक हुन मद्दत गर्दछ। खेलकुदले युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गराउँछ।”प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहेको छ। उद्घाटन समारोहमा आयोजक, खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
भोलिको खेल र पुरस्कार राशि
प्रतियोगिता अन्तर्गत भोलिको खेल गोर्खा ब्वाइज र देब दह ब्वाइज बीच हुने आयोजकले जनाएका छन्।यस राष्ट्रिय स्तरको नकआउट प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ सहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख रुपैयाँ र रनर अप ट्रफीमा चित्त बुझाउने छ।प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ उत्कृष्ट टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
कमेन्ट गर्नुहोस्