
तिलोत्तमा। तिलोत्तमा–१५, पासुपति माविको खेलमैदानमा जारी २४औँ लिस्नु कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा कपिलवस्तु–११ लाई पराजित गर्दै मोन्स्टर गाइज नवलपरासी फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न खेलमा बलियो मानिएको कपिलवस्तु–११ लाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै मोन्स्टर गाइजले फाइनल यात्रा तय गरेको हो । मोन्स्टर गाइज नवलपरासीका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका बिक्की चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए। उनले रु. ५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा आयोजक लिस्नु युवा क्लब र देवदह ब्वाइज भिड्नेछन्। उक्त खेलबाट फाइनल पुग्ने टोलीले मोन्स्टर गाइज नवलपरासीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
भदौ ३१ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले रु. ३ लाख ५१ हजार १ सय ११ तथा उपविजेताले रु. २ लाख १ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असोज ११ गते पासुपति माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्