
कोटिहवा । यस क्षेत्रकै प्रतिष्ठित फुटबल खेलको महासंग्राम २४ औ लिस्नु नकआउट फुटबल प्रतियोगिता २०८३ तयारी चलिरहेको छ । लिस्नु युवा क्लबको आयोजना तथा तिलोत्तमा वडा नं १५ को वडा कार्यालयको मुख्य प्रायोजनमा भदौ ३१ गतेदेखि हुने प्रतियोगिताको तयारी विभिन्न समितिमार्फत शुरु भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष तीर्थराज मल्लले जानकारी गराएका छन्।
पशुपति माबिको खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ३,५१,१११ रुपैया, कप, मेडल, प्रमाणपत्र, यसैगरि उपविजेता टिमले नगद २,०१,१११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि विधागत रुपमा म्यान अफ दी सिरिजले नगद २५ हजार रुपैया, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीहरुलाई नगद ११ हजार रुपैया, कपबाट तथा अनुसासित टिमलाई समेत पुरस्कृत गरिने उनले बताए।
कार्यक्रममा प्रतियोगिताबारे बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका वडा नं १५ का वडाअध्यक्ष खेमराज गुरुङले कुलतबाट युवाहरु बचाउदै खेलकुदमार्फत अघि बढाउने गरि क्लबको स्थापना भएको बताए।उहाँले लिस्नुको ईतिहासले गर्दा आफु बर्तमानमा सामाजिक नेतृत्त्वमा अग्रसर भएको बताएका छन्। सो अवसरमा नोबेल ईन्भाईरोमेन्ट एकेडेमीका संचालक सुन्दर गुरुङले आगामी बर्ष हुने २५ औ संस्करणलाई आफ्नो आमाको सम्झनामा सुनिता फाउण्डेसनबाट मुख्य प्रायोजन गर्ने प्रतिबद्धता जनाए। यसैगरि अब हुने प्रतियोगितामा क्लबको लागि जर्सी सौजन्य सिभम मिश्रा रियल स्टेटले गरेको छ।कार्यक्रममा तिलोत्तमा कार्यपालिका सदस्य रबि सेन्चुरी, सल्लाहकार तथा बन उद्योगी बसन्त रोक्का, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले प्रतियोगिताबारे बोल्दै स्थानिय स्तरमा प्रतिभाको प्रस्फुटन गराउदै एउटा ठुलो प्रतियोगिताको रुपमा अगाडी बढाउनु पर्ने र त्यसलाई शुरुवात गर्न ग्रासरुटको विकासमा जोड दिन आग्रह गरे।
प्रतियोगितामा फुलबारी गाईज, कपिलबस्तु –११, झरना स्पोर्टस क्लब, समपूर्ण युवा क्लब, मोनस्टर गाईज, फर्साटिकर युवा क्लब, आयोजक लिस्नु युवा क्लब, पाल्पा–११, सुर्यपुर एफसी चितवन, नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, देवदह ब्वाईज र होराइजन क्लब स्याङ्जा गरि १२ टिमले भाग लिएका छन। प्रतियोगितामा प्रत्येक टिमले २ जना विदेशी खेलाडी राख्न पाउने ब्यवस्था गरिएको कार्यक्रम संचालक मनोज क्षेत्रीले बताए। प्रतियोगिताका बारेमा बोल्दै खेल संयोजक रोमन गुरुङले करिव ३० लाख अनुमानित खर्च अनुमान गरिएको र सबै सहयोगी हातहरुको सहयोगमा प्रतियोगिता संचालनमा सहज भएकोले सहयोगी प्रति हार्दिक धन्यबाद ज्ञापन गरेका थिए। रुपन्देही, कपिलबस्तु, पाल्पा, स्याङ्जा, नवलपरासीका क्लबहरु रहेका छन।उद्घाटन खेलमा फुलबारी गाईज र कपिलबस्तु–११ बिचमा खेल हुने छ। गतवर्ष फर्साटिकर विजेता रहेको थियो ।
कमेन्ट गर्नुहोस्