लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पार्टीमा पुनर्जागरण आवश्यक छ : महासचिव पोखरेल

IMG

काठमाडौँ, असार १ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सोमबार आयोजित नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 


महासचिव पोखरेलले भन्नुभयो, “वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम गर्नुपर्छ भन्ने पार्टीको बुझाइ हो, आवश्यकता हो । यो एकताबद्ध बनाउन यथास्थितिमा सम्भव छैन । त्यसका लागि पार्टीमा शुद्धीकरण आवश्यक छ, सुदृढीकरण आवश्यक छ, पुनर्जागरण आवश्यक छ ।”


उहाँले अहिले पार्टीमा आम निर्वाचन २०८२ को समिक्षा गर्ने तथा पार्टीलाई पुनर्गठनका दिशामा कसरी अगाडि बढाउनु पर्दछ भन्ने विषयमा पार्टी पङ्तिको भावनाको कदर गर्दै कार्यदलको तर्फबाट सुझाव सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । पार्टी नयाँ ढङ्गबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यताको पक्षमा रहेको उहाँको भनाइ छ ।


उहाँले सूचना, प्रविधिको अधिकतम प्रयोग गरी विचारधारामा आधारित आन्दोलनको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ एकातिर लोकप्रियतावाद र अराजकतावादले समाजमा पारेका प्रभाव कसरी सामना गर्ने भन्ने विषय एजेण्डाको विषय बन्नु पर्दछ । सूचना, प्रविधिको अधिकतम प्रयोग गरी विचारधारामा आधारित आन्दोलनको पक्षमा जनमत निर्माण गर्ने कुरा अर्को महत्त्वपूर्ण कार्य हो भन्ने लाग्दछ ।”


एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अबको प्रचार शैली परम्परागत शैलीम मात्र सीमित हुन नहुने बताउनुभयो । सूचना प्रवाह मात्र नभई विश्वसनियता, बौद्धिक, तथ्यगत, सुदृढ र विचारको श्रेष्ठतालाई अवलम्वन गर्नुपर्ने उहाँको भनाइ छ । 


प्रचार विभागका पूर्वप्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई बैठक पुस्तिकासहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा, प्रचार विभागका पूर्व प्रमुखहरू सूर्य थापा, मीनबहादुर शाही उपस्थित हुनुहुन्थ्यो । 

कमेन्ट गर्नुहोस्