
काठमाडौँ, जेठ २७ गते । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको छ, नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्न सक्छ ।” सुरुवातमा पूर्वको थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उहाँले बताउनुभयो ।
मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविद्हरूको टिमले एक मिनेट पनि नछाडी अध्ययन गरिरहनुभएको छ । मौसमविद् लामिछानेले सुनाउनुभयो, “केही दिनदेखि लगातार हामी सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेका छौँ, कसरी आउँछ र कत्तिको प्रभावकारी आउँछ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।”
कमेन्ट गर्नुहोस्