
शारदा शाही, तिलोतमा, शंकरपुर।तिलोत्तमा नगरपालिका–९ शंकरपुरमा “5th MGK International Karate Championship” प्रतियोगिता सञ्चालन भइरहेको छ। जापान गोजुरियो कराते डु मिसन सङ्घ नेपालद्वारा आयोजित उक्त प्रतियोगिता वैशाख ११ र १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाल, भारत र भुटान गरी तीन राष्ट्रका करिब ३०० जना खेलाडीहरूको सहभागिता रहेको छ।
सङ्घका संस्थापक अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक काजी रानाले अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताले खेलकुद विकाससँगै पर्यटन, संस्कृति र स्थानीय भेषभूषाको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार खेलकुदले मानव जीवनमा शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ।
कार्यक्रमका अतिथि प्रहरी उपरीक्षक (एसपी) जनक शाहीले खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै खेलकुदले अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। प्रतियोगितामा बालिकाहरूको उल्लेखनीय सहभागिता देखेर आफूलाई निकै खुसी लागेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ धेरै बालिकाहरूलाई खेलकुदमा सहभागी गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
यसैगरी, सुतरियो कराते सङ्घका केन्द्रीय अध्यक्ष प्रेमबहादुर राना, वरिष्ठ कोच भूपेन्द्र राना लगायतले बालबालिकामा खेलप्रतिको रुचि अभिवृद्धिका लागि प्रशिक्षकसँगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो। उनीहरूले खेलकुदमार्फत नयाँ पुस्तालाई सकारात्मक र अनुशासित दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे।
प्रतियोगिताको उद्घाटनअघि भव्य र्याली आयोजना गरिएको थियो। र्यालीमा विभिन्न आमा समूह, मगर सङ्घ, भूपू सैनिक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको पहिचान विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्