
काठमाडौँ, फागुन ३० गते । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउनुका साथै विभिन्न शोक प्रस्ताव पारित गरेको हो । पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यको नाम तय गरेको छ । खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र र अपाङ्गता समेत) सिफारिस हुनुभएको छ । थारुतर्फ कृपाराम राणा तथा दलिततर्फ विष्णुमाया विक र नीता घतानी हुनुहुन्छ । मधेसीतर्फ रिङ्गला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल एवं मुस्लिमतर्फ साजिदा सिद्धिकी रहनुभएको उपमहासचिव भट्टले बताउनुभयो ।
उपमहासचिव भट्टका अनुसार बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा ज्यान गुमाउनुभएका जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक एवं श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकको सुरुमा दिवंगत नेताहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्