लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–९ मा नेपाली काँग्रेसको चुनाव प्रचार कार्यालय उद्घाटन

IMG

शारदा शाही,मंगलापुर। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसले चुनाव प्रचारका लागि कार्यालय उद्घाटन गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता बाबुराम राना, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, वडा नम्बर ९ का अध्यक्ष धुर्व न्यौपाने, रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हिराबहादुर खत्री लगायत पार्टीका विभिन्न तहका नेताहरू तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री बालकृष्ण खाणले लोकतन्त्रको संरक्षण र विकासका लागि नेपाली काँग्रेसको भूमिका ऐतिहासिक रहेको बताउनुभयो। उहाँले पार्टीले सधैं जनताको अधिकार, स्वतन्त्रता र समावेशी विकासका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै यस निर्वाचनमा पनि काँग्रेसलाई विजयी गराउन सबै कार्यकर्ता एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।त्यसैगरी नेता बाबुराम रानाले रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हिरा बहादुर केसी विजयी भए जनताको चाहनाअनुसार विकास, सेवा र सुशासनमा केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले जनताको मतले परिवर्तन सम्भव हुने बताउनुभयो।


तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकामा काँग्रेस नेतृत्वमा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो। उहाँले आगामी दिनमा पनि जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हिराबहादुर खत्रीले आफू निर्वाचित भएमा क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना र सामाजिक सेवामा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै विश्वास जित्ने राजनीति गर्न चाहेको धारणा राख्नुभयो।


वडा नम्बर ९ का अध्यक्ष धुर्व न्यौपानेले स्थानीय तहमा जनताको समस्या समाधानमा काँग्रेस सधैं सक्रिय रहेको बताउँदै चुनाव प्रचार कार्यालयलाई वडा स्तरको संगठन सुदृढीकरणको केन्द्र बनाइने बताउनुभयो। उहाँले युवाहरू, महिला तथा विभिन्न समुदायलाई पार्टी अभियानमा सक्रिय रूपमा जोडिने योजना रहेको जानकारी दिनुभयो। रिबन काटेर बीपीको तस्बीरमा माल्यार्पण गर्दै फूलमा जल राखेर भएको उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका सदस्यहरूको उल्लेखनीय उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्