लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही २ मा उम्मेदवारी दिएका विश्वदीप काे हुन् ?

IMG

बुटवल। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ काे लागि रुपन्देही जिल्ला क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार

शुभाष पाण्डे (विश्वदीप)को संक्षिप्त परिचय यस्तो छ :


जनयुद्धदेखि शान्ति प्रक्रियासम्म, संघीय समावेशी गणतन्त्रको स्थापना यात्रादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्म अनि नेपालको ऐतिहासिक राजनीतिक मोडहरुमा शीर्षस्थ नेतृत्वसँगै रहेर उनले निर्वाह गरेको भूमिका उल्लेखनीय छ । आन्दोलन, संक्रमण र राज्यनिर्माणका जटिल चरणहरुमा उनको सक्रिय सहभागिता केवल अनुभव मात्र होइन, जिम्मेवारीको प्रमाण पनि हो ।


राजनीतिक विरासत र जिम्मेवारी


राजनीति र जनसेवा विश्वदीपका लागि सिकाइको विषय मात्र होइन, उनेको विरासत हो । नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित धरोहर, सबैका प्रिय भक्तिप्रसाद पाण्डे ‘चाचा’ का सुपुत्र विश्वदीपले साहस, इमान्दारिता र सिद्धान्तनिष्ठ राजनीतिको परम्परालाई निरन्तरता दिँदै आएका छन् ।


पञ्चायतकालदेखि जनयुद्धसम्म, अन्याय–अत्याचारका विरुद्ध जनताको शासन स्थापनाका लागि ‘चाचा’ले देखाएको निडरता र नैतिक राजनीतिको उत्तराधिकारी हुन् विश्वदीप । आज नयाँ सन्दर्भमा त्यो इतिहासलाई नयाँ उचाइ दिन प्रतिनिधिसभा निर्वाचन २०८२ को मैदानमा उभिएका छन् ।


बाल्यकाल र शिक्षा


जन्म मितिः २०४३ असोज १२ ।

जन्मस्थानः अर्घातोष, अर्घाखाँची ।

परिवारः राजनीतिक ।


जन्म लगत्तै ६ महिनामै रुपन्देही बसाइँ सरेको पाण्डे परिवारको स्थायी ठेगाना सैनामैना नगरपालिका–१, बनकट्टा बन्यो । उनको बाल्यकाल राजनीतिक चेतनाले भरिएको परिवेशमा बित्यो । खेल्ने आँगनमै राजनीति थियो, त्यसैले हेर्ने दृश्य र फेर्ने सासमा राजनीति मिसिनु स्वाभाविक बन्यो ।


अर्घाखाँचीबाटै वाम आन्दोलनमा होमिएका ‘चाचा’ रुपन्देही आएपछि झन् सक्रिय बने । हर्रेबर्रे काण्डदेखि यातायात मजदुर आन्दोलनसम्म, सुकुम्बासीको हकहितदेखि मजदुर–व्यवसायीको भलाई कोष स्थापनासम्म उनको सक्रियता अनुकरणीय थियो । यही वातावरणले विश्वदीपलाई समाज, संघर्ष, परिवर्तन र राजनीतिको पाठ घरमै सिकायो ।


बुटवलका लुम्बिनी र नमूना बोर्डिङ स्कूलबाट स्कुले शिक्षा पूरा गरेका विश्वदीपले काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक अध्ययन पूरा गरेका छन् । विचार निर्माण, संगठन, अध्ययन–अनुसन्धान र लेखन उनका रुचि र कर्मका क्षेत्र हुन् ।


राजनीतिक अनुभव


भक्तिप्रसाद पाण्डे ‘चाचा’ माओवादी आन्दोलनका नेता र सांसद मात्र होइन, जनयुद्धका महत्वपूर्ण पात्र पनि थिए । यही पारिवारिक पृष्ठभूमिले विश्वदीपलाई सानै उमेरदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा काम गर्ने अवसर दियो ।


माओवादी र तत्कालीन सात दलबीचको ऐतिहासिक १२ बुँदे समझदारी, दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरुमा उनले माओवादी शीर्ष नेतृत्वसँगै रहेर प्रत्यक्ष राजनीतिक अनुभव सँगाले, भूमिका निभाए ।


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय कार्यरत विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय सचिव/सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरे ।

त्यसैगरी, संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो प्रधानमन्त्री कार्यकालमा युवा तथा सामाजिक विकास विज्ञको भूमिकामा समेत उनले योगदान दिए ।


डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीको प्रचार विभाग प्रमुख भइसकेका विश्वदीप हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य हुन् ।


अन्तर्राष्ट्रिय अनुभव


दुबईमा आयोजित ‘कोप–२८’, चीनको एशियाली खेलकुद उद्घाटन समारोह लगायतका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाल सरकारको प्रतिनिधिमण्डल सदस्यका रूपमा सहभागिता जनाइसकेका छन् ।


साथै अमेरिका, अष्ट्रेलिया, युरोप, एशिया र अफ्रिकाका दर्जनौं देशको भ्रमणमार्फत उनले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक व्यवहारको गहिरो अनुभव हासिल गरेका छन् । संगठन, जनसम्पर्क र डिजिटल अभियानमा दक्ष विश्वदीप जिम्मेवारीप्रति खरो उत्रने युवा नेता हुन् ।


सम्भावनाका सेतु


नेपालको शान्ति प्रक्रियाको दशक (२०६२–२०७२)मा युवा उमेरमै उनले खेलेको भूमिका र आर्जन गरेको राजनीतिक ज्ञान लोभलाग्दो छ । विद्रोही पक्ष नेकपा (माओवादी) का शीर्ष नेतासँगै रहेर वार्ता, संवाद र रस्साकस्सीका कठिन क्षणहरु भोग्दा उनले समन्वय र समझदारीको सेतु बन्ने क्षमता विकास गरे ।


आजको राजनीति पुस्तान्तरणको चरणमा छ । जेन–जी पुस्ताको उदयसँगै अनुभव, विचार, शैली र गतिबीच समन्वय अनिवार्य बनेको छ । पुस्ताबीच निषेध होइन, संवाद र आदानप्रदान आवश्यक छ ।


पुरानो पुस्ताको विरासतमा हुर्किएका, पाको पुस्तासँगै काम गरेका र नयाँ पुस्ताको प्रविधि र ऊर्जामा रमाइरहेका विश्वदीप पुस्तागत समन्वयका स्वाभाविक सेतु हुन् । त्यसैले संघीय संसददेखि रुपन्देही–२ का गाउँ, टोल, सडक र चोकसम्म उनको भूमिका प्रभावकारी हुनेछ ।


प्रधानमन्त्री र अर्थमन्त्री कार्यालयदेखि राज्यका विभिन्न निकाय र अन्तर्राष्ट्रिय मञ्चसम्म आर्जन गरेको अनुभवले जनता र सत्ताबीचको दूरी घटाउने सामर्थ्य उनमा छ । आजको राजनीति विचार र निष्ठासँगै ‘डेलिभरी’ पनि हो । र, त्यो ‘डेलिभरी’ दिन सक्ने क्षमतासहित विश्वदीप आज उभिएका छन् ।

कमेन्ट गर्नुहोस्