
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताएका छन् ।आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले नवीन कांग्रेसको शुरुवात भएको बताएका छन् ।‘सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु, विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ,’ उनले भनेका छन्, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।
गगनको घोषणाः आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा गुटगत समस्या अन्त्य भएको घोषणा गरेका छन् ।निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको समितिलाई वैधता दिएसँगै सार्वजनिक अपील गर्दै सभापति थापाले गुटगत भागवण्डा सकिएको घोषणा गरेका हुन् ।भुईँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनले स्पष्ट पारेका छन् । कार्यकर्ताको चाहना अनुसार निर्णय गर्ने सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।
निर्वाचन आयोगको निर्णयसँगै विधि, विधान र पद्दति स्थापित भएको सभापति थापाले जनाएका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन् । ‘यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ सभापति थापाले अपीलमा भनेका छन् ।विशेष महाधिवेशनबाट विधि विधानले प्रधानता पाएको उल्लेख गर्दै सभापति थापाले यसलाई जय पराजयको विषय बनाउन नहुने बताएका छन् । ‘कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं । विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ,’ सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।
पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा नेताहरुले यो प्रक्रियालाई सहज रुपमा ग्रहण गर्ने विश्वास सभापति थापाले लिएका छन् । पार्टी बाहिर रहेको पङ्तिप्रति सभापति थापाको संकल्प छ,‘विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको छ । आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ ।’लोकतान्त्रिक र जनमुखी पार्टी बनाउने प्रतिवद्दता व्यक्त गर्दै सभापति थापाले कांग्रेसको मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । चुनावी गठबन्धन नगर्ने प्रतिवद्दता पार्टी पङ्तिसँग गरेका छन् । चुनावी तालमेललाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै सभापति थापाले गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन् ।
कमेन्ट गर्नुहोस्