
रुकुम।नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले कुनै पनि भगौडाको पछि नलाग्ने कुरा प्रमाणित गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेपछि उत्पन्न अवस्थालाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको उल्लेख गर्दै प्रचण्डले त्यसले रुकुममा पार्टीको जनमत खस्किएको हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए ।“यहाँको एक जना तपाईंहरूले अघि सारेको नेता पलायन भए, विचलित भएर गए । कहाँ गए भने कम्युनिस्ट र मार्क्सवाद छाड्नेतिर गए,” उनले भने, “यसको पछाडि षड्यन्त्र छ । निकै ठूलो षड्यन्त्रअन्तर्गत ती मान्छेलाई विचलित बनाइएको छ ।”उनले थपे, “पहिला–पहिला जस्तो सभामा उपस्थिति नहुने हो कि भन्ने मलाई कताकता लागेको थियो । तर आज यो सभामा आउँदा रुकुमका जनता महान छन्, कुनै भगौडाको पछि लाग्दैनन् भन्ने कुरा तपाईंहरूले सावित गरिदिनुभयो ।”
जनार्दन शर्मालाई संकेत गर्दै प्रचण्डले नामै लिएर भने, “पहिला प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो । अब त प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भन्ने कुरा उठाइयो । म झन् बढी रुकुम आउँछु अब ।”उनले जनार्दन शर्माको अभावमा पार्टीको ‘हेडक्वार्टर’ कमजोर हुन्छ कि भन्ने चिन्ता नगर्नसमेत आग्रह गरे ।“मैले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा चौरजहारीमा बोलेको कुरा धेरैले सुन्नुभएको होला,” प्रचण्डले भने, “मैले रुकुमका पार्टीका जनता र कार्यकर्तालाई सलाम गरेको थिएँ । रुकुममा पहिला जसलाई नेता मानिन्थ्यो, उनीहरू पलायन भए ।उनीहरू विचलित भए । तर रुकुमका जनता विचलित भएनन्, पलायन भएनन् । नेता–कार्यकर्ता कहिल्यै पनि विचलित हुनेहरूको पछि लागेनन् ।”
कमेन्ट गर्नुहोस्