
काठमाण्डाै – अस्ट्रेलियाका पूर्वक्रिकेटर डेमियन मार्टिन ‘कोमा’ बाट बाहिर निस्किएका छन् । ५४ वर्षीय क्रिकेटर ‘कोमा’ बाट बाहिर निस्किएका र उनको अवस्थामा ‘चमत्कारिक’ सुधार भइरहेको बीबीसीले जनाएको छ ।गएको महिनाको अन्त्यतिर बिरामी परेका मार्टिन मेनिन्जाइटिसका कारण अस्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेको अस्पतालमा भर्ना भएका थिए । पछिल्लो ४८ घण्टामा मार्टिनको अवस्थामा उल्लेखनीय परिवर्तन आएको उनका नजिकका साथी तथा अस्ट्रेलियाका पूर्वक्रिकेटर एडम गिलक्रिस्टले बताएका छन् ।
मार्टिन अब बोल्न पनि सक्षम भएका उनको परिवारले निकालेको विज्ञप्तिलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । डाक्टरहरूले डेमियन मार्टिनलाई चाँडै आईसीयूबाट बाहिर सार्न सकिने बताएका छन् ।डेमियन मार्टिनले अस्ट्रेलियाका लागि चार वटा एशेज टेस्ट शृङ्खला खेलेका छन् । उनले सन् २००६ मा तेस्रो टेस्टअघि अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । मार्टिन सन् १९९९ र २००३ मा लगातार दुई एकदिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्य पनि हुन् ।मार्टिनले ६७ टेस्टमा १३ शतक र २३ अर्धशतकसहित ४ हजार ४ सय ६ रन र २ सय ८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ शतक र ३७ अर्धशतकसहित ५ हजार ३ सय ४६ रन बनाएका छन् ।
कमेन्ट गर्नुहोस्