
बुटवल। बदलिंदो चम्किलो बचत तथा क्रृण सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरपालिका, वडा नं.६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष न्यौपानेले सहकारी संस्थाहरुले सदस्यहरुलाई तालिम दिएर रोजगारी सृजना गर्ने गरी अगाडी बढ्न सुझाव दिनु भयो । उहाँले बुटवल उपमहानगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताउँदै सहकारीसंग सहकार्य गरी शेयर सदस्यहरुलाई पनि तालिमहरु दिने गरी तयारी गर्न समेत आग्रह गर्नुभयो । उहाँले विगतमा नाम मात्रैको तालिमहरु हुने भएपनि बुटवलमा आफूहरुको नेतृत्व आएपछि तालिमलाई उत्पादन संग जोडेर स्वरोजगार उद्यमीहरु तयार गरिरहेको बताउनु भयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश गैरेले दोस्रो वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो। अध्यक्ष गैरेले सहकारीको विकास तथा सम्मृद्धिको लागि अहोरात्र खटिरहेको बताउँदै लगानीलाई सुरक्षीत गर्दै छिटो र सरल तरिकाबाट सेवा प्रवाहा गर्दै आएको बताउनु भयो । उहाँले सहकारीले हायर प्रचेज तथा धितो क्रृणमा हाललाई १५ प्रतिशत ब्याज दरमा र सरल तथा सामाजिक कर्जालाई १३ प्रतिशत ब्याज दरमा कर्जा प्रवाह गरेको बताउनु भयो । सहकारीले बचतमा ११ प्रतिशत ब्याज प्रदान गरेको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा सहकारीका संस्थापक कृष्ण प्रसाद बेल्वासे, पूर्व अध्यक्षहरु जीत बहादुर मल्ल, प्रकाश नेपाल, राजेन्द्र पाण्डे, बुटवल उपमहानगरका कार्यपालिका सदस्यहरु हेमा थामी, यम बहादुर सुनार, शंकरनगर आनन्दवन खानेपानीका अध्यक्ष किशोर सुवेदी, लालटिन सहकारीका उपाध्यक्ष गोपाल प्रसाद गैरे, ग्लोवल सहकारी उपाध्यक्ष थानेश्वर बस्याल, सहकारी उपाध्यक्ष हरी घिमिरे लगायतले बोल्दै बदलिंदो चम्किलो सहकारीले गरेको कामको उच्च प्रशंसा गर्दै यस सहकारीबाट अन्य सहकारीले पनि सिक्न सके सहकारीको मर्म र महत्व थप बढेर जाने बताए ।
कार्यक्रममा सहकारीका शेयर सदस्यहरुको परिवारका सदस्यहरु मध्येबाट प्लस टु, स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र÷छात्रालाई सम्मान गरिएको छ । यस्तै, जेष्ठ नागरिकहरु मध्ये पुरुष र महिला गरी एक एक जना र सर्वाधिक शेयर सदस्य सिफारिस गर्ने १ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । सहकारीले उत्कृष्ट बचतकर्ता र असल क्रृणीलाई समेत सम्मान गरिएको छ । साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको सहकारीको सचिव बसन्ती बस्यालले जानकारी दिनु भयो ।
कमेन्ट गर्नुहोस्