
सुपौली। कपिलवस्तु ११ लाई ट्राइब्रेकरमा १ का विरुद्ध ३ गोलले हराउदै झरना स्पोर्ट्स क्लव कुन्जलापुर चौथो समपुर्ण कप नकआउट फुटवलको.फाइनलमा प्रवेश गरेको छ । बुधबार तिलोत्तमा १४ स्थित समपुर्ण युवा क्लवको मैदानमा झरनालाई फाइनल पुर्याउन गोलकिपर टोपबहादुर रानाले नायकको भुमिका निर्वाह गरे । उनले कपिलवस्तुका २ खेलाडीले प्रहार गरेका पेनाल्टी सुटआउटलाई रोकिदिएका थिए भने अर्का एक खेलाडीले प्रहार गरेको पेनाल्टी सुटआउट पोष्ट माथीबाट बाहिरिएको थियो।
कपिलवस्तुका लागी एक जना खेलाडीले मात्रै पेनाल्टीमा गोल गर्न सके भने झरनाका तिनै जना खेलाडीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । यसअघि निर्धारित समयसम्म दुवैपक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । झरनालाई फाइनल पुर्याउन महत्वपुर्ण योगदान गरेका गोलकिपर टोप बहादुर राना खेलमा म्यान अफ दी म्याच हुदै नगद रु ३ हजार सहित ट्रफीबाट सम्मानित भए । अब झरनाले बिहिबार हुने दोस्रो सेमीफाइनलको विजेता टोलीसँग शनिबार फाइनलमा प्रतिस्प्रर्धा गर्ने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिए । बिहिबार गत बर्षको साविक विजेता सिम्रिक युथ क्लव बुटवल र सुनवल एफसी बीच दोस्रो सेमीफाइनल खेल हुने अर्यालले बताए ।
स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने छ । समपुर्ण युवा क्लव तिलोत्तमा १४ को आयोजनामा सुपौली स्थित क्लवको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा कुल १२ टोली सहभागी छन भने प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया तथा उपविजेताले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए ।
यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जनाए । खेल हेर्न पहिलो चरणमा रु ५० टिकट तय गरिएको खेलमा क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताए । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा प्रत्येक खेलाडीका लागी रु १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्