लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन उच्चको आदेश

IMG

बुटवल। सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थप मिसिल झिकाउने आदेश गरेको छ ।न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले छविलाल जोशीको मिसिल अपुग भएकाले थप मिसिल झिकाई दुवै मुद्दा साथै राखेर सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।


बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भाग बराबरको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । त्यसपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए ।यसअघि, सहकारी ठगीको बिगो रकम बुझाएर थुनामुक्त भएर मुद्दा लड्न पाऊँ भनी दुवै प्रतिवादीले दिएको निवेदनमा उच्च अदालतले मुद्दा संयुक्त रूपमा सुनुवाइ गर्ने आदेश दिएको थियो ।


सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसहित पेश गरेका थिए । जोशीले पनि त्यति नै रकम बराबरको जमानत पेश गरेका थिए ।तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश दिएको थियो ।हाल पुर्पक्षका लागि लामिछाने र जोशी दुवै थुनामा रहेका छन् । लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

कमेन्ट गर्नुहोस्