
कुञ्जलापुर। तिलोत्तमाको कुन्जलापुरमा जारि यस क्षेत्रकै रोमाञ्चक खेलको महासंग्राम ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको सेमीफ़ाइनलमा कपिलबस्तु-११ प्रवेश गरेको छ।बराबरी खेलमा पेनाल्टी भएसंगै कुनै पनि गोल जितको लागि उपयोग नभएपछि भएको सडेनडेथमा भूपू सैनिक जवईलाई हराउदै कपिलबस्तु एघार, ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।
बिहिबार तिलोत्तमा-६ कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको सुन्दर खेल मैदानमा भएको भूपू सैनिक विरुद्ध दोस्रो हाफसम्म पनि गोल नभपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो। ५/५ जाले प्रहार गरेको पेनाल्टीमा समेत गोल रोक्ने, हाइबल , पोलटचले खेललाई पुन: बराबरीमा धकेल्यो त्यसपछि भएको सडेनडेथमा कपिलबस्तु-११ ले खेलको जित आफ्नो कब्जामा राख्यो। अन्तिम मिनेटसम्म पनि निकै रोमाञ्चक र उत्कृष्ट खेल प्रदर्शन गरेको दुवै टिमले, पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा खेल ट्राइब्रेकरमा प्रवेश गरेको थियो। कपिलबस्तु-११ को जीतमा राम्रो क्षमता प्रदर्शन गरेका रेनिस मगर खेलमा म्यान अफ दी म्याच घोषित भए ।
स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १ गतेबाट शुरु भएको हो । असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका हुन् । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरि दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने पौडेलले बताउनुभयो ।
प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने छ । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०/१० हजार पाउने खेल संयोजक विजय पुनले जनाउनुभयो । खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने ब्यवस्था गरिएको प्रतियोगितामा खेल हेर्न १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको क्लवका सचिव मोहनसिह रानाले जानकारी दिनुभयो । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ ।
तस्बीर: गोल नेपाल
कमेन्ट गर्नुहोस्