लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही क्षेत्र नं.-३ काे उपचुनावमा स्वतन्त्र उम्मेदवारी दिने लेखनाथ गैरेको घोषणा

IMG

बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल-१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।


गैरेले आइतबार पत्रकार सम्मेलन गरी उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका हुन् । गैरेले विद्यार्थी जीवनदेखि हालसम्म कुनै दलको सदस्यता नलिई स्वतन्त्र रहेकाले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।लामाे समयदेखि बुटवलमा बस्दै आएका गैरले आफू क्षेत्र नं ३ को स्थानीय भएकाले यहाँका सबै वर्ग र समुदायका समस्यासंग जानकार रहेको बताए ।गैरेले गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रुपन्देही ३ मा तिनाउ नदीमा स्थानीय तहहरुले लगाउने ठेक्कामा हरेक वर्ष करोडौं रुपैयाँको ढुंगा गिटी बालुवाको चोरी निकासीलाई नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली र चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेण्डा रहेको बताए ।


उपनिर्वाचनमा नेपाली कांग्रेसबाट बालकृष्ण खांण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खांण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरु बताउँछन् ।एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, पूर्वप्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, पूर्वमेयर सागरप्रताप राणा लगायत आकांक्षी छन् । गौरव र प्रज्ज्वल दुई भाइ हुन् ।माओवादी केन्द्रसहितका विपक्षी दलबाट एकीकृत समाजवादीका महासचिव घनश्ययाम भुसाल र युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।रास्वपाबाट उम्मेदवारका आकांक्षी आफै खुलेका छैनन् ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबीच सहमति भएको थियो । नागरिक उन्मुक्तिबाट रेशम चौधरी र धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ ।उता काठमाडौंको मेयर बालेन शाहका समर्थक समेत स्वतन्त्र उम्मेदवार उठ्ने चर्चा छ । ती उम्मेदवारलाई गत आम चुनावमा डढेल्धुरामा नेपाली कांग्रेसका सभापतिसँग चुनाव लडेर हारेका सागर ढकालले सहयोग गर्ने स्रोतको दाबफ छ ।

कमेन्ट गर्नुहोस्