
तिलोत्तमा,माघ २९ गते २०८१।माओवादी केन्द्रका नेता सुदन किरातीले नेपाली कांग्रेसका दुई महामन्त्रीमाथि कटाक्ष गरेका छन्।असंवैधानिक अध्यादेशलाई महादेवले सतीदेवीको लास बोके जस्तो बोकेर हिँडेपछि कांग्रेसका महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाप्रति जनताले गरेको झिनो आशाको पनि अवशान भएको उनले टिप्पणी गरे।पार्टीको इलाम माई नगरपालिकाको तेश्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री किरातीले यस्तो टिप्पणी गरेका हुन्। कांग्रेसका दुई महामन्त्रीको नामै लिएर उनले भने, ‘असंवैधानिक अध्यादेशलाई सतीदेवीको लास बोके जस्तो बोकेर हिँड्ने गगन थापा र विश्वप्रकाशप्रति जनताले गरेको झिनो आशाको मृत्यु भएको छ।’
नेता किरातीले दुईतिहाइको डंका पिट्नेहरूले किन संसद् छलेको भन्दै प्रश्न पनि गरे।‘मुलुकमाथि के विपत्ति आइलाग्यो? कसरी यो अध्यादेशहरू संवैधानिक छ? पुष्टि गरेर देखाउन म चुनौती दिन्छु’, उनले प्रश्न गरे, ‘दुइतिहाइको डंका पिट्नेहरू किन संसद्बाट भागेको? न्यायपालिकालाई किन कार्यपालिकाको लाचार छाँया बनाएको? इतिहासले यो प्रश्नको उत्तर तपाईंहरूसँग खोजेको छ।’
एउटा कथा सुनाउँदै नेता किरातीले एक जोडी महामन्त्रीको खुट्टी देखिएको टिप्पणी गरे।‘हाम्रो समाजमा एउटा कथा छ। आँधीहुरीले ढल्काएको एउटा बाँसमाथि फिष्टी चरी बसेर भनेछ, अरे ! आमा–आमा हेर्नुस् त मैले बाँस लचक्कै लच्काइदिएँ। फिष्टी चरीको आमाले भनिछन्, अरे होला–होला छोरी तेरो खुट्टी हेर्दा थाहा पाएँ’, उनले भने, ‘यसैगरी आज दुई महामन्त्रीको खुट्टी पनि देखियो।’ प्रजातन्त्रको हिमायती भन्ने कांग्रेसले जनतालाई भ्रममा राखेको भए पनि अहिले आफ्नै व्यवहारले उदाङ्गो भएको नेता किरातीले बताए।‘कांग्रेस आफूलाई प्रजान्त्रको हिमायती भन्दै जनतालाई भ्रम दिन सफल भएको थियो’, उनले भने, ‘त्यो मुकुण्डो पनि आफ्नै व्यवहारले उदाङ्गो भयो। अब कांग्रेसको प्रजातन्त्रको ठेक्काको म्याद ओली सरकारसँगै समाप्त भयो।’
कमेन्ट गर्नुहोस्