लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौँ : अध्यक्ष प्रचण्ड

IMG

तिलोत्तमा,पौष १४ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् । भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।उनले सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गरे । अध्यक्ष प्रचण्डले भने, ‘हामी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ, भ्रष्टाचारीलाई यसै छोडिने छैन ।’


गिरिबन्धु, यती, ओन्नी, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै नछोडिने उनले स्पष्ट पारे ।उनले थपे, ‘यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ, हेर्नुहोला अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ, भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौँ, अहिले मैले अब धेरै भन्नु छैन ।’आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्ने पनि आफ्नो उक्त सरकारको भयभित भए आतङ्कित भएको उल्लेख गरे ।


‘अहिलेको सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ, भ्रष्टाचारका विरुद्ध छैन’, अध्यक्ष प्रचण्डले भने । उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए ।एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै प्रचण्डले भने, ‘देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ, पर्सि म झापा जाँदै छु, प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौँ प्रवेश गर्ने तयारी छ ।’भारत भ्रमणको बेलामा सीमा समस्यादेखि लिपुलेक कालापानीको समस्यासम्म पनि आफूले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको उनले स्पष्ट पारे ।


उनले सुदूरपश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्यपहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर्देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण र विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाइएको बताए ।अध्यक्ष प्रचण्डले पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्याउने कोसिस गर्दै गर्दा सरकार ढलाइएको समेत बताए ।

कमेन्ट गर्नुहोस्