
१० पुस, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको जिकिर गरे ।‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा गणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ,’ पुनले भने ।
रोल्पाको लुङ्ग्री गाउँपालिका–५ को नवनिर्मित भवन उद्घाटन गर्दै पुनले पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे ।‘माओवादीले गाउँ–गाउँमा सिंहदरबारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौं । आफैंले आफैंलाई शासन गर्ने अवस्था सृजना भएको छ । तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ,’ उनले भने ।सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।‘एउटा सत्य के हो भने, पञ्चायत कालभरी जम्मा ७ हजार किलोमिटर बाटो खन्यो, बहुदलीय व्यवस्थामा जम्मा १८ हजार बाटो खनियो । तर अहिले गणतन्त्रको १५ वर्षमा एक लाख किलोमिटर भन्दा बढी बाटो खनियो । भनेपछि विकासका हिसाबले पनि गणतन्त्र सही हो । तर जनताको चाहना अझै पूरा भएको छैन । यो व्यवस्थालाई अझै सुधार गर्नुपर्ने छ ।’
कमेन्ट गर्नुहोस्