
तिलोत्तमा, १९ मंसिर २०८१। काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप यही मंसिर २३ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरू हुँदैछ ।प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने छन् ।
नेपालबाट एनभिए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले सहभागिता जनाउने छन् । त्यसैगरी ईरानबाट चादाैर मालो क्लब, भारतबाट कालिकट हिरोज र माल्दिभ्सबाट एचडीसी क्लबले सहभागिता जनाउने छन् ।प्रतियोगिताका लागि करिब १ करोड खर्च हुने र राष्ट्रिय खेलकुद परिषदबाट २५ लाख अनुदान प्राप्त गर्ने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।काभा पुरुष क्लब भलिबल पहिलोपटक हुन लागेको हो । नेपालमा यस वर्ष आयोजना हुन लागेको यो दोस्रो काभा प्रतियोगिता हो । यसअघि काभा वुमन्स नेसन्स लिग आयोजना भएको थियो ।
कमेन्ट गर्नुहोस्