
तिलोत्तमा सिटी, २०८१,कार्तिक २७ गते । पहाडी र हिमाली जिल्लामा मात्र उत्पादन हुँदै आएको कोदो बाली तराइको गर्मी मानिने बाँके जिल्लामा पनि उत्पादन गर्न सफल परीक्षण गरिएको छ।
सामुदायिक जिन बैङ्क सञ्जालले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित गाभर भ्यालीमा कोदोको सफल परीक्षण उत्पादन गरेको हो । गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराइको गर्मी जिल्लामा पनि फलेको देख्दा स्थानीयले समेत अनौठो मानेका छन् ।
“पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराइका जिल्लामा उत्पादन गर्ने लक्ष्यका साथ परीक्षण गर्नका लागि हामीले गत साउन महिनामा रोप्यौँ, अहिले कोदोको बाला लहलह भएको छ, स्थानीयले पनि अनौठो मान्ने गर्नुभएको छ,” सामुदायिक जिन बैङ्क सञ्जालका संयोजक पुरमल बस्नेतले भन्नुभयो, “नौ प्रजातीका कोदोको बिउँ रोपेका थियौँ, एक दुई प्रजाति बाहेक अन्य सबै राम्रोसँग फलेको छ ।”
स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोको विभिन्न प्रजातिको बिउँ परीक्षणका लागि रोपिएको उहाँले बताउनुभयो । “स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोको परीक्षण गरेका थियौँ, अहिले लहलह बाला लागेको छ, मङ्सिरको पहिलो सातातिर काट्ने योजना बनाएका छौँ, हामीलाई उत्साहित बनाएको छ, अब तराइमा पनि कोदो उत्पादन गर्न सकिने देखिएको छ,” संयोजक बस्नेतले भन्नुभयो ।
बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत् उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात रहेका छन् । “नार्कका प्राविधिकसँगको समन्वयमा हामीले यो परीक्षपण गरेका थियौँ, मङ्सिर पहिलो साता उहाँहरु फिल्डमा आउने कुरा भएको छ, सोही समयमा यसलाई टिप्ने योजना बनाएका छौँ,” बस्नेतले भन्नुभयो, “नार्कका प्राविधिकहरुको सल्लाहमा तराइका अन्य स्थानहरुमा रोप्न मिल्ने गरी यसको बिउँ सिफारिस गर्ने योजना बनाएका छौँ ।” नार्कका प्राविधिकको सिफारिस अनुसार तराइका जिल्लाहरुमा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ । उहाँका अनुसार रैथाने बालीको संरक्षणका लागि सुख्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको हो ।
२०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको जिन बैङ्कका सचिव समेत रहनुभएका घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले बताउनुभयो । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन सुरु गरिएको र सफलसमेत भएको उहाँको भनाइ छ । जिन बैङ्कले तराइमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पती, पशुपन्छी, मौरी, सुष्म जिवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ। सम्बन्धित रैथाने बस्तुलाई लोप हुन बाट जोगाइ संरक्षण गर्ने र त्यसमा आधारित स्थानीय रैथाने जाति प्रजातिसहित सम्बन्धितलाई व्यावसयिकता दिने कार्य गरिरहेको चौधरीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्