
२८ आश्विन २०८१, तिलोत्तमा। नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् ।कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने चेतावनी समेत उनले दिएकी छन् ।
उनले पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभई गरिएको यो कार्यले २८ लाख एमालेका मतदाताको समेत अपमान भएको बताएकी छन् ।पार्टी कार्यालय शिलान्यास सम्बन्धी नेपाल प्रेसको समाचार शेयर गर्दै पाण्डेले भनेकी छन्– साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।
तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौँ ।एमाले कार्यालयका लागि जग्गा उपलब्ध गराएका गुरुङले नै एक वर्षभित्र भवन बनाएर हस्तान्तरण गर्ने भनिएको छ ।
कमेन्ट गर्नुहोस्