
तिलोत्तमा सिटी, २०८१ वैशाख १८ गते । बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिवसँग मङ्गलबार छलफल गर्नुभएको छ ।
भिसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले मङ्गलबार (आज) रातिसम्म भिसा आउने जानकारी दिनुभयो । भिसा लिनकै लागि एन्फाले आफ्नो प्रतिनिधि भारतको दील्ली पठाएको पनि महासचिव राईले जानकारी गराउनुभयो । एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कूल ३० जनाको नाम राखेपमा पठाएको र सोमबार स्वीकृती दिएको सदस्य सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।
यसबाहेक पाँच जना भिआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषद्मा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पार्नुभयो । यस्तै एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरुको हकमा स्वीकृती नलिएको बताउनुभयो । उहाँले बाकी २० जना आफ्नै खर्चमा बेलायत जाने पनि बताउनुभयो । तर एन्फाले अन्य ब्यक्तिको भिसाको लागि बेलायती राजदुतावासमा सिफारिस गरेको पनि जानकारी गराउनुभयो ।
राष्ट्रिय खेलकुद ऐनअनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताउनुभयो। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राखेपबाट स्वीकृती लिनुपर्ने निर्णय युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले गर्नुभएको छ ।
स्वीकृती नलिएसम्म बाँकी १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन् । युवा तथा खेलकुद मन्त्रालयले राखेपको स्वीकृतीबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पत्राचार गरेको समेत जनाएको छ ।
कमेन्ट गर्नुहोस्