
तिलोत्तमा सिटी, २०८१ वैशाख ८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ। काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार काँग्रेससँग नभएको बताउनुभएको हो।
ललितपुरमा गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै उहाँले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेतालाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार नराख्ने बताउनुभयो।
अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनैपनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। उहाँले सत्ताबाट हट्नु परेपछि काँग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको बताउनुभयो।
ओलीले भन्नुभयो, ‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला नेपाली काँग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ। यही हतासोले उसलाई प्रतिशोधको राजनीतिमा पुर्याएको छ। नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गरेको छ। उसले रास्वपा र अन्य कतिपय दलका नेतालाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्यो। तर काँग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दल नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ। यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्क संगत आधार छैनन्।’’
अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको प्रष्ट पार्नुभएको छ।
कमेन्ट गर्नुहोस्