लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बनबाटिकामा महाबिर पुनले बेचे आफ्नो संस्मरण सहितको किताब

IMG

तिलोत्तमा,२०८१ बैशाख १ गते। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै भैरहवा तिलोत्तमा बुटवल संगै तिलोत्तमाको बनबाटिका पुगेका छन्।आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उनी तिलोत्तमाको आन्तरिक पर्यटनको गन्तव्य बनबाटिका पुगेका हुन्। वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन्।


‘यो देशका एक तिहाइ नागरिक झन्डै तीन लाख जतिले मेरो किताब किनेमा मात्रै करिब १६ करोड जति संकलन हुनेछ,’ पुनले भने, ‘त्यो रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुनेछ।’ आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने उनले बताए। ‘सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाइ परिवर्तन गराउनु र उनीहरूमा प्रेरणा थप्नु यतिखेर अति आवश्यक छ,’ उनले भने, ‘जीवनका गोरेटोमा आउने मोडहरूमा मैले के-के गरे, कसरी अमेरिका पढ्न गए र कसरी अगाडि बढे भन्ने कुराहरू यो किताबमा छ।


’कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले बताए। हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेको उनले बताए। नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तिमा ६/७ प्रतिशत मात्रै आयात रोक्न सकेपनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुनसक्ने उनले औंल्याए। राज्यलाई मात्रै दोष दिएर नहुने भन्दै परिस्थिति अनुरूप हरेक नागरिकले राज्य बनाउन योगदान गर्न जरूरी रहेको उनले बताए। ‘राज्यले लगानी गरिदिएको भए त राम्रो हुन्थ्यो,’ उनले प्रश्न गरे, ‘राज्यले गरेन भन्दैमा सबै सचेत नागरिक चुप लागेर बसे कसरी देशको उन्नति हुन्छ?’

कमेन्ट गर्नुहोस्