लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा

tillotmacitynews - 2024 Mar 29 08:40 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत १६ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ उनले भने, ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले बताए । एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र नभएको महामन्त्री थापाले बताए । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’


मुलुकलाई निराशाबाट बाहिर निकाल्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने थापाको भनाइ छ । यस्तै आगामी चुनावअघि गठबन्धन नगर्ने महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन हुने महामन्त्री थापाले बताए । उनले २०८२ मा पार्टीको महाधिवेशन हुने भन्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए ।


‘पार्टीको सदस्यताका लागि अनुदार नबनौँ । अरू पार्टीले फर्म भर्नासाथ सदस्यता दिन्छ,’ महामन्त्री थापाले भने, ‘क्रियाशील सदस्यता लिन तीन पुस्ते खुलाउनुपर्ने, कुर्नुपर्ने भन्यौँ भने अबको नौजवानले कांग्रेसको सदस्यता लिन कुर्लान् ?’  महाधिवेशनअघि दुई वर्ष संगठन सुधारका कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । 

कमेन्ट गर्नुहोस्