
तिलोत्तमा सिटी, २०८० चैत ७ गते । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो । सभामुख देवराज घिमिरेका अनुसार अब अर्को बैठक १८ चैतमा बस्ने छ । १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका छन् । सभामुख घिमिरेका अनुसार सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)काे कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछन् । टोलीमा सभामुखसहित ६ सांसद र ३ कर्मचारी सहभागी हुनेछन् । सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । टोली १६ गते फर्किने छ ।
कमेन्ट गर्नुहोस्