लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

tillotmacitynews - 2024 Mar 05 06:11 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । उपसभापति धनराज गुरुङका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो । उनले भने, 'दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । अब कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर बैठक सकियो ।'


बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएछपि कांग्रेस सरकारबाट बाहिरिएको हो । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो ।


एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र २०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो । यही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एक/एक जना मन्त्री नियुक्त गरेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् ।


केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ । जसपा अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुन खोजेकाले पहिलो चरणमा कसैलाई पनि उनले मन्त्री तोकेका छैनन् । उनले उपप्रधानसहित परराष्ट्रमन्त्री लिने समझदारी भएको छ ।


रास्वपा सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गर्दै आएका छन् । तर, सहमति जुटिनसकेकाले उनले अहिले उपसभापति अर्याललाई मात्र सरकारमा पठाएका छन् । उपप्रधानसहित गृहमा एमालेको दाबी छ । एमालेको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । त्यस्तै माओवादीले अर्थ लिने अनौपचारिक समझदारी बनेको र त्यसमा वर्षमान पुन मन्त्री हुने सम्भावना धेरै छ । गृह मन्त्रालयको विषय टुंगो लागेपछि अन्य मन्त्रालयको भागबन्डा टुंगिने नेताहरूको बुझाइ छ ।

कमेन्ट गर्नुहोस्