
तिलोत्तमा,२०८० माघ १ गते । प्रधानमन्त्री कप क्रिकेटमा सोमबार मधेश प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक पूरा गरेका छन् । उनको प्रधानमन्त्री कप क्रिकेटमा यो दोस्रो र समग्र घरेलु प्रतियोगितामा चौथो शतक हो ।एउटा संयोग नै मान्नुपर्छ ३ वर्षअघि जनवरी १५ कै दिन प्रधानमन्त्री कपमा पहिलो शतक हानेका विनोदले यसपटक पनि जनवरी १५ मै शतक बनाए । ‘खास केही होइन, खेल्दै जाँदा बनेको संयोग हो’, उनले पत्रकारहरुलाई जवाफ दिए ।२०७७ सालको प्रधानमन्त्री कपमा विनोदले गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए ।
घरेलु प्रतियोगितामा उनले पहिलो पटक सन् २०१९ मा भएको मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाएका थिए । त्यतिबेला उनले कर्णाली प्रदेशविरुद्ध ६५ बलमा १०३ रन बनाएका थिए ।उनले तेस्रो शतक २०२१ को मार्चमा मेयर कप क्रिकेटमा बागमतीविरुद्ध बनाएका थिए । त्यो खेलमा ११९ रन बनाए पनि आर्मी १० रनले पराजित भएको थियो ।तर यसपालि भने विनोद शतक बनाउँदै टिमलाई १२६ रनको फराकिलो जित दिलाउन सफल भए ।त्रिवि क्रिकेट मैदानमा बिहानको ओसिलो पिचमा मधेशले टस जितेर आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो । आर्मीका ओपनर इमरान शेख र सन्तोष कार्कीले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै राम्रो रन बन्ने आधार तयार गरेका थिए । पावर प्ले सकिए लगत्तैको ओभरमा इमरान व्यक्तिगत २६ रनमा आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की १८ रन बनाउँदै आउट भएपछि विनोद चौथो नम्बरमा ब्याटिङमा आएका थिए । जतिबेला टिमको स्कोर १६.५ ओभरमा २ विकेटको क्षतिमा ८५ रन थियो ।पावर प्लेमा विकेट नगएको र ओपनिङमा राम्रो सुरुवात भएपछि विनोद लामो समय क्रिजमा टिक्ने र खेललाई अघि बढाउने योजना अनुसार मैदान छिरेका थिए ।‘१० ओभरसम्म विकेट नजाओस् भन्ने थियो । शेख (इमरान) र सन्तोषले राम्रो खेलिरहेका थिए’, विनोदले भने, ‘बल फसिरहेको थियो । भित्र जाँदा जति सक्यो धेरै टिक्ने भन्ने थियो ।’एक दिवसीय क्रिकेटका लागि राष्ट्रिय टिममा पर्ने र बाहिरिने गरिरहे पनि विनोद टी–२० टिममा भने परिरहेका थिए । उनले गत अक्टोबरमा भएको एसियाली खेलकुदमा राष्ट्रिय टिमबाट २० ओभरको क्रिकेट खेलेका थिए ।त्यस्तै दुई हप्ताअघि मात्रै वीरगञ्जमा भएको टी–२० फर्म्याटकै नेपाल प्रोक्लब च्याम्पियनसिप पनि उनले खेलेका थिए । लगतार टी–२० खेलिरहेकाले एकदिवसीयमा सिफ्ट हुँदा जति सक्यो धेरै समय क्रिजमा टिक्ने लक्ष्य नै आफ्नो रहेको विनोद सुनाउँछन् ।
उनले पाँचौ विकेटका लागि कुशल मल्लसँग १३२ रनको शतकीय साझेदारी गरे । यो साझेदारीले नै आर्मीलाई ३२० को बलियो लक्ष्य तयार गर्न सहज भएको थियो ।दुई जनाले एक अर्कालाई बुझ्दा साझेदारी गर्न सहज भएको विनोदले बताए । ‘हाम्रो कम्बिनेसन मिल्छ, मेरोबाट डट भए पनि उसको बाट रन आउँछ भन्ने विश्वास एक अर्कामा हुन्छ’, उनी भन्छन् ।कुशल ३७ रन बनाउँदै आउट भएपछि आएका विवेक यादवसँग २० रनको साझेदारी गरेपछि विनोद व्यक्तिगत ११३ रनमा आउट भए ।४३.५ ओभर सकिएको त्यतिबेला आर्मीको स्कोरबोर्डमा ६ विकेटको क्षतिमा २५४ रन बनेको थियो । त्यसपछि विवेक व्यक्तिगत ३७ तथा बसिर अहमद १६ रन बनाउँदै आउट भए । खेलको अन्तिम बलमा १० विकेट गुमाउँदा आर्मीले ३२० रन बनाएको थियो ।
एस्ट्रो टर्फको अभ्यासले सुधार
यो प्रतियोगिताका लागि आर्मीले हिमालयन क्रिकेट एकेडेमीको एस्ट्रो टर्फ (कृतिम घाँस) मा अभ्यास गरिरहेको छ । टर्फमा गरेको अभ्यासले नै सबै खेलाडीलाई खेल्न र खुल्न सहज भएको विनोदको ठम्याइ छ ।‘यो पटक हामीले टर्फमा ट्रेनिङ गर्दा पनि फरक परेको हो,’ उनले भने, ‘सबै खेलाडीलाई खेल्न सहज भएको छ ।’ टर्फको अभ्यासले बलरमा पनि आत्मविश्वास बढेको र नतिजा निस्किएको बताए ।३२१ रनको लक्ष्य पछ्याएको मधेशलाई आर्मीका बलरले ४८.४ ओभरमा १९४ रनमा अल आउट गरेका थिए । साहब आलम एक्लैले ४ विकेट लिए ।
कमेन्ट गर्नुहोस्