लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो समपुर्ण कप शुरु, डिफेन्डिङ च्याम्पियन नवयुवा विजयी गोरेटो कोर्दै

IMG

तिलोत्तमा, मङ्सिर ९ गते २०८०। शनिबारदेखि स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा साविक विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले विजयी शुरुवात गरेको छ ।तिलोत्तमा नगरपालिका–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको उद्घाटन खेलमा नवयुवाले बर्दघाट नगरपालिका, नवलपरासीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।


त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ नवयुवाका लागि सरोज दर्लामीले दुई गोल गरे भने अनुज गैरेले एक गोल गरे । उता बर्दघाटका लागि सुरज आले मगरले दुई गोल गर्र्दा हिमाल घर्ती मगरले थप एक गोल गरेका थिए ।खेलमा नवयुवाका सरोज दर्लामी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे। साथै यो जितसँगै नवयुवा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत मंसिर १० गते आइतबारको खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र द राईजिङ युवा क्लब, कनहरि बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले बताए ।


त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तिलोत्तमा नगरपालिका, रुपन्देहीकी उपमेयर जागेश्वर देवी चौधरीले गरेकी थिईन् ।तिलोत्तमा–१४ निवासी स्व.डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब. गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।


समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।भोलिको खेल आयोजक समपुर्ण र द राइजिङ्ग युवा क्लब कनहरी बीच हुने आयोजकले बताएको छ।


कमेन्ट गर्नुहोस्