
तिलोत्तमा, भाद्र २२ गते २०८०। विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार काठमाडौं आइपुगेको नेपाल भलिबल संघले जनाएको छ ।उनलाई राष्ट्रिय टिमका प्रशिक्षक जगदिश भट्ट र राष्ट्रिय पुरुष टिमका ट्रेनर रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा हान अबिङ नेपालको पुरुष टिमको प्रशिक्षकको भूमिकामा छन् ।
तर उनको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहेका छन् ।यस पटक नेपाली टिमको कप्तानमा मान बहादुर श्रेष्ठ छन् । नेपालको पुरुष टिमले लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो भने महिला टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ ।हान अबिङले एसियन गेम्सपछि श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा पनि नेपाली पुरुष टिमको प्रशिक्षण सम्हाल्ने भलिबल संघले जनाएको छ ।हान अबिङ तेस्रो पटक नेपाल आएका हुन् । यसअघि उनले एभिसी सेन्ट्रल जोनमा दुई पटक नेपाली पुरुष टिमको प्रशिक्षक भएर काम गरेका थिए ।
कमेन्ट गर्नुहोस्