
तिलोत्तमा / १७ असार । दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको विजय हात पारेको छ । दीपेन्द्रले अविजित ७९ रन बनाएपछि नेपालले १ सय ८२ रनको लक्ष्य ४४ औं ओभरमा १ सय ८५ रन बनाउँदै पूरा गरेको थियो ।
दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर आठौं विकेटमा अविजित ७९ रनको साझेदारी गरेर नेपाललाई विजय बनाउन मद्धत गरे । दीपेन्द्रले ८५ बलको सामना गरी ७ चौका र २ छक्का प्रहार गरे । सन्दीप ३७ बल खेली २ चौका प्रहार गरी अविजित २३ रन बनाए ।
जिम्बावेमा भइरहेको प्रतियोगिताको नेपालले अब सातौं स्थानको प्लेअफमा टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्ने छ । आयरल्यान्डले पछिल्लो अफ खेलमा अमेरिकालाई पराजित गरेको थियो । यूएई र अमेरिका नवौं स्थान हात पार्न प्लेअफमा खेल्ने छन् । जारी विश्वकप छनोटमा नेपालको यो दोस्रो विजय हो । अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित पौडेल ४, भीम सार्की १, आरिफ शेख १ र कुशल भुर्तेल ३५ रनमा आउट भएपछि नेपाल २१ औं ओभरमा ६३–६ को स्कोरमा पुगेको थियो । कुशलले ५९ बल खेल्दै ४ चौका प्रहार गरे ।
कमेन्ट गर्नुहोस्