लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

IMG

तिलोत्तमा सिटी ।  जेठ ३२ गते ।  साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल  नेपाली समय अनुसार साझ पौने ५ बजे सुरु हुनेछ।  फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो ।  त्यहाँ २ दिनको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि नेपाली टोली त्यहिँबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारतको बेङ्गलुरु जानेछ। फिफाको विश्व वरियतामा फिलिपिन्स १ सय ३६ र नेपाल १ सय ७४ औं स्थानमा छ। यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले १ र फिलिपिन्सले ४ खेल जितेका छन् भने १ खेल बराबरी भएको छ । 



पछिल्लो पटक सन् २०१७ मा एसिया कप छनोट अन्तर्गत एन्फा कम्प्लेक्समा नेपालले फिलिपिन्ससँग गोल रहित बराबरी खेलेको थियो। छोटो समयको तयारीकाबीच साफ खेल्न लागेको नेपाललाई यो खेलमा युवा खेलाडी परीक्षणको मौका पनि रहनेछ । कठिन मानिएको समुहमा परेको साबिक उपविजेता नेपाल फिलिपिन्सविरुद्ध जितका साथ उच्च मनोबल लिएर भारत जाने तयारीमा रहेको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताएकाका छन्।  यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन्। साफमा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह बीमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच असार ६ गते आमनेसामने हुनेछन् ।  


कमेन्ट गर्नुहोस्