
तिलोत्तमा सिटी । बुधबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउन चाहेको भन्दै छलफल अघि बढाएका हुन् ।
बुधबार विहान नेपाली कांग्रेसका तीन नेतालाई मन्त्रीमा नियुक्ति भए पनि अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । बाँकी मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहभागी गराउन सत्ता गठबन्धनका अधिकांश नेता सकारात्मक छन् ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने यसबारे फरक मत राखेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खबर केही सञ्चारमाध्यममा आएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई यसबारे सूचना आएको बैठकमा बताएका थिए । रविले साना दललाई मिलाएर सरकार बनाएमा एमालेले समर्थन दिने सन्देश ओलीलाई पठाएको स्रोतको दाबी छ ।
बालुवाटारको छलफलमा प्रधानमन्त्री प्रचण्डले रविसँग आफ्नो र कांग्रेस सभापति शेरबहादुर देउवाको छलफलबारे सुनाएका थिए । सो क्रममा उनले रास्वपा पुरानै मन्त्रालय पाए सरकारमा आउन सहमत भएको बताएका थिए ।
रविले शनिबार प्रधानमन्त्री प्रचण्ड र सोमबार कांग्रेस सभापति देउवालाई भेटेका थिए । भेटमा देउवाले रविलाई मन्त्री पठाउन आग्रह गरेका थिए । रास्वपा अध्यक्ष लामिछानेले भने समग्रमै भागबण्डा गर्नुपर्ने माग राखेका थिए । बुधबारको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि रास्वपा सरकारमा आए मन्त्रालय मिलाउन आफू तयार रहेको बताएका थिए ।
कमेन्ट गर्नुहोस्