
तिलोत्तमा, वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् ।चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन भनेका हुन् ।
लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो म खोल्न तयार छु ।’यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थनसमेत फिर्ता लिने बताएका थिए ।प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत प्रचण्डको दाबी छ । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।अहिले सरकार परिवर्तन हुने विषय पनि भ्रममात्रै भएको प्रचण्डले दाहोर्याए । ‘सरकार यताउता हुन्छ भन्ने निकै ठूलो भ्रम हो । सरकार पाँच वर्ष नै चल्छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्