
तिलोत्तमा सिटी १४ बैशाख २०८०।लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।८ दलका सांसदहरुको समर्थनमा चौधरीले विहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।
गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।
को हुन्, मुख्यमन्त्री चौधरी?
लुम्बिनी प्रदेशकोे मुख्यमन्त्रीको रुपमा नियुक्त भएका चौधरी आमा सोमती चौधरी र बुवा टुकलाल चौधरीको कोखबाट २०२६ असार १५ गते तुल्सीपुर उपमहानगरपालिका–६ स्थिते डुम्रिगाँउमा जन्मिएका थिए ।१७ वर्षको कलिलो उमेरमा नै चौधरीले सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरे । नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडी बढाइरहदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्म प्रभाव पार्यो ।
कुनै वेला डिल्ली चौधरीको परीवार जमिन्दारको घरमा कमैया बसेको थियो । चौधरीले थारु समुदाय सहित अन्य अल्पसंख्यक गरीविको रेखा मुनी रहेका नागरीकहरुलाइ समेत शिक्षाको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका व्यक्ति हुन ।धर्ती पुत्र मानिने तर, पछाडि पारिएको समुदाय थारु होस वा अन्य गरिबी र अशिक्षाको रेखामुनी बाँचि रहेका समुदायलाई शिक्षाको पहुँचमा पु¥याउन र शिक्षाको ज्योती फैलाउन उनले महत्वपूर्ण काम गरे । रात्री शिक्षाको माध्यमबाट चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगाएतका जिल्लाका लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरेका छन । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ ।
कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने उनी वाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बने । भारतका वालवचाओ अभियानका कैलास सत्यार्थीसंगको सम्वन्धका कारण उनी वालवालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल भए ।चौधरीको कामको राष्ट्रिय तथा अन्तिराष्ट्रिय मान्यतामा निम्न पुरस्कारहरु समावेश छन् । उनले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तराष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्का अमेरिकी भूतपूर्व राष्ट्रिपती जिमि कार्टरबाट प्राप्त भएको हो । द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवाफत प्राप्त गरेका चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३)दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता हुन् ।
राजनीतिक परिवर्तन, पिछडीएका समुदायको सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउदै प्रहरी हिरातमा पनि धेरै पटक राखेको थियो । स्नातकसम्म अध्ययन गरेका नवयुक्त मुख्यमन्त्री चौधरीले विश्वका ४५ वढी राष्ट्रको भ्रमण र विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत रहेको छ ।
राजनीति र संसदीय यात्रा
सामाजिक आन्दोलनकै क्रममा चौधरीले २०५७ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएर सक्रिय राजनीति सुरु गरे । कांग्रेसको क्रियाशिल सदस्य लिएको ८ वर्ष पछि अर्थात २०६५ सालमा कांग्रेसको महासमिति सदस्य बने । त्यसपछि अहिलेसम्म निरन्तर रुपमा उनी कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा रहेका छन् ।२०७० मा संविधानसभाको सदस्यमा निर्वाचित भएसँगै चौधरीको संसदीय यात्रा सुरु भयो । उनले २०७३–०७४ सम्म राज्य मन्त्रीको रुपमा काम गर्ने अवसर पाए । देश संघीयतामा गएपछि भएको पहिलो निर्वाचनमा उनी दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।
त्यसपछि उनले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको जिम्मेवारी पाए । उनी सो पदमा रहंदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गरे पछि उनी चर्चामा आएका थिए । चौधरी मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीमण्डलमा पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री बने ।यस्तै २०७९ मा सम्पन्न प्रदेशसभाको दोस्रो निर्वाचनमा पनि चौधरी दाङ ३ (१) बाट नै निर्वाचित भए । प्रदेशसभामा निर्वाचित भएपछि कांग्रेसको संसदीय दलको नेतामा चयन हुँदै अन्ततः चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भए ।
कमेन्ट गर्नुहोस्