
तिलोत्तमा,२०७९ पौष १ गते । कालिका मानवज्ञान माविले ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ। पुस १ देखि ७ गतेसम्म हुने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण समेत आयोजना गरिने भएको छ ।विद्यालय परिसरमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन तथा शिल्ड अनावरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । विसं ०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाईएको ईतिहास विद्यालयको रहेको उनले बताए ।
“त्यसपछि २०७८ मा जिल्लास्तरीय रुपमा खेलाउन थालिएको हो”–उनले भने । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले रनिङ शिल्ड अनावरण गर्दै खेलकुदमा लुम्बिनी प्रदेशमा अझै पनि नीतिगत र संरचनागत अभाव रहेको बताए ।
खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको उनले दुःखेसो गरे । प्रदेश संरचनामा खेलकुद गतिविधि अघि बढ्न नसकेको भन्दै नीतिगत, खेलकुद क्यालेन्डर, संरचना निर्माण हुन नसक्नु नै मुख्य चुनौती देखिएको उनले बताए ।कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामीले शैक्षिकसंगै अन्य गतिविधिमा समेत विद्यालय निरन्तर अघि बढेको बताए । विद्यालयको भवन निर्माणसंगै खेलग्राम अभाव देखिएको उनले बताए ।
कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, विद्यालयका खेलकुद संयोजक हरिस ओलीले विद्यालयमा शैक्षिकसंगै खेलकुद गतिविधिबाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव देखिने बताए । प्रतियोगितामा जिल्लाका ४५ वटा विद्यालयका २ हजार ४ सय खेलाडीहरु भाग लिने बिद्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्