
तिलोत्तमा सिटी , २०७९ असोज ३। लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको उपाधी आयोजक लिस्नु युवा क्लबले चुमेको छ। कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोल ले पछि पार्दै उपाधी सुरक्षित गरेको हो । आयोजक एक दशक पछि यसरी फाइनलमा पुगेर पगरी चुमेको हो।
एक नाइजेरीयन खेलाडी फोडे फुफाना सहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुन: १ गोल फर्काएपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो। अहिले आफुलाई परिष्कृत गर्दै आएको लिस्नुले फाइनलको उपाधि जित्ने दाऊलाई खेल अबधि भारी जारि राख्यो तर समय सक्किएपछि बराबरीमा खेल टुङ्गियो।
खेल बराबरी भएपछी शुरु भएको ट्राइब्रेकरमा ५/५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुन ४/४ गोल भयो। त्यसपछि पनि ३/३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन। संगै गोलकिप्परको प्रहार पनि जितहारको साबित भएन। त्यसपछि भएको ३/३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो।
लिस्नू युवा क्लबले सेमिफाइनलमा फोर ब्रदर्श एफसी, नवलपरासीलाई पछि पारेको थियो भने फर्साटिकर एफसीले सञ्जीवनी युवा क्लब, देवीनगरसंग सेमीफाइनल खेलेको थियो। बिशेष औपचारिक कार्यक्रमका बीच दिउसो २ बजे शुरु भएको प्रतियोगिताको समापन फाइनल खेलमा प्रमुख अतिथि प्रतिनिधि सभाका संसद छबिलाल बिश्वकर्मा, तिलोत्तमा वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङ, राष्ट्रिय क्रिकेट टिमका पुर्व खेलाडी शक्ति गौचन, पन्चकन्या ग्रुपका ध्रुव कुमार श्रेष्ठ, मुख्य प्रायोजक श्रीमाया गुरुङ लगायतको उपस्थितिमा बिजेता तथा उपविजेता टिमलाई नगद ट्रफी तथा मेडल र प्रमाणपत्र साथमा गिफ्ट ह्याम्पर हरु हस्तान्तरण गरिएको थियो।
निकै रोमाञ्चक बनेको खेल हेर्न दर्शकहरु तिलोत्तमा-१५ स्थित कोटिहवा श्री पशुपति माविको प्रांगणमा टनाटन थिए। प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ वटा टीमको सहभागिता रहेको थियो भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।
त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लिस्नु युवा क्लबका हिमाल थापाले २५ हजार रुपैयाँ सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर , उत्कृष्ट गोलरक्षक फर्साटिकरका सुवाङ्कर जिसी लाई १० हजार सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर, उदयमान खेलाडी लिस्नुका सुदिप मल्लाहलाइ १० हजार सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर र सर्वाधिक गोलकर्ता फोर ब्रदर्शका कृपा चौधरीले जनही १० हजार रुपैयाँ सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै खेलमा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार दिइएको गरेको क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।प्रतियोगितामा यसपटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ। उहाँले आगामी प्रतियोगिताको लागि समेत मुख्य प्रायोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छन्।
कमेन्ट गर्नुहोस्