
तिलोत्तमा सिटी न्युज, भदौ २७ गते २०७९। फोर ब्रदर्श एफ.सी. नवलपरासी रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा राईजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका कपिलवस्तुलाई २–१ गेल अन्तरले पराजित गर्र्दै फोर ब्रदर्शले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।पुर्बाद्र्धसम्म १ गोलले अग्रता लिए पनि राईजिङ्ग स्टारले खेलको अन्तिम समय सम्हालिन नसक्दा सेमीफाइनलको यात्रामा ब्रेक लाग्यो । पुर्बाद्र्धको ३२ मिनेटमा राईजिङ्ग स्टारका राम बहादुर मगरले गोल गर्दै १–० ले अग्रता दिलाएका थिए ।
पुर्बाद्र्धमा १–० ले पछि परेको नवलपरासीको फोर ब्रदर्शले अन्तिम क्षणमा २ गोल फर्काउँदै सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । कृपा चौधरीले ३९ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । ४२ मिनेटमा सुरेश कुमालले गोल गर्दै २–१ को अग्रता दिलाएनन् मात्र टीमलाई सेमीफाइनलको यात्रा तय गराइदिए ।खेलमा फोर ब्रदर्श एलिस मगर म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसै गरी माईडियाद्वारा प्रायोजित माईडिया म्यान अफ द मुभमेन्टबाट राईजिङ्ग स्टारका गोलरक्षक भीम पुन पुरस्कृत भए ।प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ वटा टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।प्रतियोगितामा यसपटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ। मंगलबार तेस्रो क्वाटर फाइनल खेलमा सञ्जिवनी युवा क्लब तिलोत्तमा बागधुरा र वालिङ नगरपालिकाबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्