
तिलोत्तमा सिटी न्युज, साउन १७ गते २०७९ । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् । आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने समीकरण कठिन बनेको हो । पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिएका छन् । बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ । तर नेपाललाई फाइनल पुग्न धेरै चुनौती छ । अहिलेसम्म बंगलादेश सबै तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टू हेडमा भारत अगाडि छ ।
आज (मंगलबार)को पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालले बंगलादेशलाई हराएमा फाइनल पुग्ने सम्भावना बढ्ने छ । तर, फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच सवा ७ बजे हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ । नेपालले बंगलादेशलाई पराजित गरेमा र भारती टिम माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनलमा पुग्नेछ । यदी नेपाल र भारत दुवैले आ–आफ्नो खेल जितेमा तीन वटै टिमको समान ९ अंक हुनेछ । यस्तोमा तीन टिमबीचको हेड टु हेड र गोलअन्तरमा गणना गरिनेछ । सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्स र श्रीलंकामाथि सहज जित हात पार्दै नेपालले फाइनल पुग्ने सम्भावालाई बलियो बनाएको थियो । नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तर, तेस्रो खेलमा अनपेक्षित रुपमा भारतसँग ८–० गोलअन्तरको हारपछि नेपाललाई झड्का लाग्यो । यो नतिजाले नेपालको गोलअन्तर ऋणात्मक बनेको छ ।
कमेन्ट गर्नुहोस्