
बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी।अक्सिजन र बेड नपाएर कोरोना भाइरस संक्रमित नागरिकले ज्यान गुमाउनु परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् ।बिहीबार एक विज्ञप्ती जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहराले भनेका छन्, ‘अक्सिजन अभावमा नागरिकको ज्यान गएको छ । यस विषयमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ छानविन गर्न स्थानीय प्रशासनलाई उनले आग्रह समेत गरेका छन् ।बुटवलमा ५ जना र सिद्वार्थनगरमा ४ जना कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर नै ज्यान गएको उल्लेख गर्दै यस विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
अहिलेको मुख्य कार्य भनेको जनताको जीवनको रक्षा भएकाले प्रदेश र स्थानीय सरकारले आफ्नो सम्पूर्ण श्रोतसाधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जीवन रक्षामा लगाउन पर्ने उनको माग छ । बोहराले आम नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै अस्पतालहरुमा बेड र अक्सिजनको व्यवस्था मिलाउन अपिल गरेका छन् ।
कमेन्ट गर्नुहोस्