
२४ बैशाख, २०७८ तिलोत्तमा सिटी। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो।’ उनले एकतावद्ध एमालेका लागि वार्ता र लचकता दुवै अपनाउने बताएका छन् ।
बिहीबार मध्यरात शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टीका अन्य नेताहरु घनश्याम भुषाललगायतसँग लामो वार्ता र छलफल भएको थियो। एमाले विभाजन रोक्न प्रयास भइरहेका वेला उनले छलफल प्रति लक्षित गर्दै केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।
उनले आफूहरू नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमालेका पक्षमा रहेको भन्दै २०७५ जेठ २ को बटमलाइनमा सहमति नभएको बताएका छन्। नेपालले अगाडी लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’
कमेन्ट गर्नुहोस्