लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

IMG

तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले जालझेल गरी नियुक्त भएका कारण मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् ।बिहीबार प्रेस विज्ञप्ति जारी उनीहरुले पोखरेललाई प्रदेश प्रमुखले जालझेल गरी मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन् । प्रदेशसभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाको बहुमत आफूहरुसँग भएकाले बहुमत प्राप्त विपक्षी गठबन्धनका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न पनि उनीहरुले माग गरेका छन् ।


मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ सांसदमात्र रहेकाले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेलको नियुक्ति असंवैधानिक भएको चार दलको दाबी छ । प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने चार दलको माग छ ।संविधान, विधि प्रकृया मिचेर अल्पमतको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै उनीहरुले आफू अल्पमतमा रहेको  थाहा हुँदा हुँदै पनि  संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु पोखरेलको पदलोलुपता, अराजनीतिक र निरंकुश कदममात्र नभई वैचारिक राजनीतिक नियत नै खराब रहेको जिकिर पनि गरेका छन् ।


शंकर पोखरेलले ४१ जना आफ्नो पक्षमा रहेको दावी गरेर मुख्यमन्त्रीमा नियुक्ति भए पनि सांसद विमला डाँगीले माओवादी केन्द्र रोजेकी, प्रदेशसभा सदस्यहरु दीर्घनारायण पाण्डे र अमर बहादुर डाँगीले राजीनामा दिएकाले पोखरेल स्पष्ट रुपमा अल्पमतमा परेको चार दलको दावी छ ।मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिए कानूनी र राजनीतिक लडाई लड्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।मुख्यमन्त्रीमा प्रस्तावित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले शंकर पोखरेलको धोती फुस्किसकेको बताए । प्रदेशसभामा आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै उनले एमालेका अझै तीन चार जना सांसदले एमालेको साथ छाड्ने दावीसमेत गरे । मुख्यमन्त्री पोखरेलले संसद नबोलाएर लुक्दै हिँडेको आरोप लगाउँदै केसीले भने, ‘सदन खुल्नासाथ असलियत थाहा हुन्छ, त्यसपछि मुख्यमन्त्री म नै हुन्छु ।’

कमेन्ट गर्नुहोस्