लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ बर्षपछि ठडियो धरहरा,वैशाख ११ गते समुद्घाटन हुने

IMG

तिलोत्तमा २०७८ बैशाख ८ गते बुधबार।भुकम्पले क्षति पुगेको धरहराको पुनर्निर्माण सकिएको छ ।पुनर्निर्माणको काम सकिएको २२ तले धरहरामा गजुर राखिएको छ । राष्ट्रिय पुनर्निर्माणमा प्राधिकरणका सिइिओ सुशील ज्ञवालीले पूजा गरेर धरहराको टुप्पोमा गजुर राखिएको हो ।वैशाख ११ गते हुन लागेको २२ तले धरहरा उद्घाटनको सम्पुर्ण तयारी पुरा भएको छ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणको काम सकेपछि उद्घाटन गर्ने तयारी भइरहेको जनाएको हो ।वैशाख ११ गते प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्न लागेको छ ।कोभिड–१९ को संक्रमण बढीरहेका बेला सरकारले २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने निर्णय गरिसकेकाले अहिलेसम्म उद्घाटन समारोहका लागि कसैलाई पनि निमन्त्रणा नगरिएको प्राधिकरणले ट्विटरमार्फत जानकारी गराएको छ ।


नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकाउने, रंग लगाउने र बत्ती जोड्ने काम भइरहेका छन् । गजुर पनि राखिएको छ । धरहराको फेदमा सिँढी बनाउने काम जारी नै छ ।भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो ।


धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए ।धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ ।धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसाभित्र हालिएको छैन ।


कमेन्ट गर्नुहोस्