
२०७७ चैत २० गते तिलोत्तमा । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा राखिएको ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरिन् । अब क्रमशः काठमाडौंबासीका घरघरमा मेलम्चीको पानी पुग्नेछ ।झण्डै तीन दशकको प्रयासमा सफल हुँदा राष्ट्रपति भण्डारीले कृष्णप्रसाद भट्ट्टराईलाई सम्झिइन्, जसले ०४८ को चुनावी सभाका क्रममा मेलम्चीको पानी काठमाडौंको सडक पखाल्छु भनेका थिए । ०४२ सालमै सम्भाव्यता अध्ययन भएको यो आयोजना भट्टराईकै त्यही भाषणपछि चर्चामा आएको थियो ।त्यही स्मरण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने प्रतिवद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो। मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन गर्न प्रेरणा मिल्यो ।’विभिन्न चरणमा मेलम्ची आयोजनाको निर्माण अघि बढाएको भन्दै अहिलेको सरकारको दृढ इच्छाशक्तिको कारण आयोजना सम्पन्न भएको उल्लेख गरिन् । ‘केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छाशक्तिको कारण यो आयोजना सम्पन्न भएको छ’ उनले भनिन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरुको योगदानको स्मरण गरिन् र धन्यवाद दिइन् ।राष्ट्रपति भण्डारीअघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोजनाका विषयलाई लिएर कृष्णप्रसाद भट्टराईलाईलाई सम्झिएनन् । तीन दशक पुरानो आयोजनालाई पूरा गर्न आफूहरुले तीव्र प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए ।‘यसको परिकल्पना धेरै अगाडि गरिएको थियो । यस विन्दुसम्म आइपुग्न झण्डै तीन दशक लाग्यो । तर हामीले विगत केही वर्षयता यस सफलताको दिन साकार पार्न कामलाई तिव्रता दिने प्रयास गर्यौं, जसको फल स्वरुप आज यसविन्दुमा आइपुगेको छौं’ उनले भने ।उनले खानेपानी मन्त्रालय, आयोजनासँग सम्बन्धित सम्पूर्ण प्राविधिक, योगदान गर्ने सबैलाई धन्यवाद दिए । साथै यसैवर्ष सुरुङ परीक्षणका क्रममा बाढीले बगाएर मृत्यु भएका मेलम्ची आयोजनाका दुई कर्मचारीप्रति श्रद्धासुमन व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्