लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निरंकुश सत्ता चलाउने ओलीको प्रयास असफल हुन्छ : पुन

IMG

 पौष १७, २०७७, तिलोत्तमा । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् ।नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको पुनको भनाइ छ ।


नेता पुनले प्रधानमन्त्री ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको आरोप पनि लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए ।‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभएको छ’, नेता पुनले भने, ‘राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौं ।’ ओली नेतृत्वको वर्तमान सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उनले गरे ।


नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणीसमेत गरे । ‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’एक फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिह्न आफूहरुले पाउनेमा शंका नरहेको बताए ।

कमेन्ट गर्नुहोस्